काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि आज पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको छ । रिट निवेदकको तर्फबाट पहिलो बहस गरेका वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा अोलीले संविधानभन्दा बाहिर गएर संसद विघटन गरेको बताएका छन् ।
‘प्रधानमन्त्रीले संविधानभन्दा बाहिरको अधिकार प्रयोग गर्नुभयो कहाँको अधिकार प्रयोग गरेको हो त्यो देखाइदिनुपर्यो ?’ उनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई प्रश्न गर्दै भने । यस्तै, थापाले संसद् विघटन गर्नु भन्दा अघि उक्त कदम संविधानको वरिपरि छ कि छैन भनेर किन नहेरिएको भन्दै प्रश्न पनि गरेका छन् । ‘संसद् विघटन एकातिर बाध्यता भन्ने, अर्कोतिर अधिकार भन्ने ? यो कुरा संविधानको वरिपरि छ कि छैन हेर्नु पर्दैन ?’ उनले सोधे ।
यसैबिच न्यायाधीश अनिल सिन्हाले आफैंले चुनेको व्यक्तिलाई सरकार चलाउन सहयोग गरेको देखिएन नि भन्दै प्रश्न गरेका थिए । त्यसको जवाफमा थापाले पार्टी विभाजन नभई सबै मन्त्रीले साथ दिँदा प्रधानमन्त्रीले कुनचाहिँ काम गर्न सक्नुभएन भन्दै प्रतिप्रश्न गरेका थिए ।








