काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासु र लेखापढी व्यवसायीविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ । आयोगले नायब सुब्बा वेदनिधि बराल र हरिवनका लेखापढी व्यवसायी रामसुन्दर महत्तोलाई जग्गाधनी दर्ता प्रमाणपत्रमा नाम संशोधनबापत सेवाग्राहीसँग ११ हजार रूपैयाँ घुस लिएको अभियोगमा मुद्धा दर्ता गरेको हो ।
आयोगको बर्दिवास कार्यालयबाट गएको टोलीले लेखापढी व्यवसायी महत्तोलाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । यस्तै, आयोगले विद्युत् मिटरको क्षमता वृद्धि गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग आठ हजार घुस मागेको अभियोगमा नेपाल विद्युत् प्राधिकरण वरहथवा वितरण केन्द्रमा कार्यरत इलेक्ट्रिसियन मनोजकुमार पाण्डेविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।








