नवलपुर । महिलाहरुको जिविकोपार्जनका निम्ति अम्रिसो खेतीले साहयता गरेपछि महिलाहरु यसतर्फ आर्कषित भएका छन् । अम्रिसो खेतीले महिलाहरुलाई आर्थिक रुपमा उपयुक्त प्रर्वधन गरेपछि हात्तीखोरमा रहेको जनचेतना आमासमूहले समुहमा आबद्ध महिलाहरुलाई आर्थिक स्तरउन्नतिका साथै जिविकोपार्जनमा सहजता प्रदान गर्ने उदेश्य अनुरुप समुहले बिगत ५ बर्षदेखि अम्रिसो खेती गरिदैँ आएको जनचेतना आमा समूहकी सचिव भुमिसरा रानाले बताउनुभयो ।
सुरुवाती समयमा यस खेतीतर्फ महिलाहरुको संख्या न्यून रहेपनि पछिल्लो समय अम्रिसोबाटै राम्रो आम्दानी लिन सकिने हुदाँ महिलाहरुको संख्यामा समेत वृद्धि भएको मगरले बताउनुभयो । समुहमा आबद्ध महिलाहरुले १८ बिगाहा ऐलानी जग्गालाई तारबार गरी संरक्षण सहित उक्त क्षेत्रमा अम्रिसो खेती गरिएको हो । सुरुवाती बर्षमा अम्रिसो खेतीको बजारीकरण स्थानिय स्तरमा मात्रै सीमित हुने गरेकोमा अहिले स्थानिय बजार,जिल्लाका बिभिन्न बजार क्षेत्रसंगै पोखरा ,चितवनसम्म यसको माग आउने हुँदा बजारीकरणको समस्या नभएको समूहकी सचिव रानाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘उत्पादनको सुरुवाती बर्ष बिक्रीका लागि निकै समस्या थियो,अहिले अम्रिसो किन्न उत्पादन गरेकै ठाँउमा सवारी लिएर चितवन,पोखरादेखि आउछँन अम्रिसो बेच्न पहिले जस्तो दुःख छैन’ उहाँले भन्नुभयो ।अम्रिसो खेतीका लागि समुहले बर्षेनी ५० हजार रुपिँया खर्च गरिएको भएपनि खर्च कटाएर बार्षिक ३ लाखसम्म आम्दानी गर्दै आएको रानाको भनाई छ ।
बनजङ्गगलको छेउमा उक्त खेती गरिएको हुँदा डढेलोको सामान्य असर खेतीमा पर्दै आएकोमा यसबर्ष बनजङ्गल डढेलो नियन्त्रणका कारण यसको उत्पादनमा समेतवृद्धि हुने समुहले आकलन गरेको छ । यसबर्ष अन्य बर्षको तुलनामा ४ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य समुहको रहेको सचिव रानाले बताउनुभयो ।
समुहले १ किलो अम्रिसो १सय रुपियाँमा बिक्री गर्दै आएको छ । महिलाहरुको जिविकोपार्जनका लागि सहजता प्रदान गर्नुका साथै एकपटक बिरुवा लगाएपछि एकबर्षसम्म केही गर्नु नपर्ने तैपनि राम्रो आम्दानी हुने र महिलाहरु अन्य खेती तथा ब्यवशायमा सरिक हुन सकिने हुदाँ समूहले बर्षेनी अम्रिसो खेती गर्दै आएको छ ।








