काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सभा कस्तो हुन्छ भन्दै प्रश्न गरेका छन् । नेकपाले बुधबार आयोजना गरेको विरोधसभामा केही दिनअघि ओलीले सभा कस्तो हुन्छ देखाउने सन्दर्भको जवाफ दिँदै प्रचण्डले भने, ‘केपीजी देख्नुभयो सभा कस्तो हुँदोरहेछ ?’ यसअघि प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव पक्षले माघ ९ मा गरेको सभालाई लक्षित गर्दै ओलीले सभा भनेको कस्तो हुन्छ माघ २३ गते देखाउने बताएका थिए ।
त्यसअनुसार ओली पक्षले काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो । प्रचण्डले आजको सभामा करिब पाँच लाख मानिसको उपस्थिति रहेको दाबी गरे । उनले आजको सभा अदालतदेखि सबैले हेरेको बताए । ‘मलाई लाग्छ, आजको सभाले सम्मानित अदालतलाई सहज भएको छ । देश र जनताको पक्षमा फैसला गर्न सहज भएको छ । त्यसो भएन भने आँधी आउँछ ।’ प्रचण्डले भने ।
निर्वाचन आयोगले काइते कुरा गरेको प्रचण्डको भनाई छ । उनले आफूहरू नै आधिकारिक दावी गर्दै भने, ‘निर्वाचन आयोग काइते कुरा नगर। खुट्टा नकमाऊ।’ संवैधानिक निकायमा बसेकाहरूले गल्ती गरेमा जनताले दुस्ख पाउने प्रचण्डले बताए ।








