काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याका अभियुक्तलाई पक्राउ गर्न सफल भएकोमा नेपाल प्रहरीलाई धन्यवाद दिएका छन् । बुधबार पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय बैतडीले घटनामा संलग्न सोही ठाउँका दिनेश भट्टलाई सार्वजनिक गरेको थियो ।
त्यसपछि गृहमन्त्री थापाले सामाजिक सञ्जालमार्फत नेपाल प्रहरी सहितको टिमलाई धन्यवाद दिएका हुन् । सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न गृहमन्त्रालय संवेदनशील रहेको र कारवाहिको दायरामा ल्याउन प्रतिवद्ध रहेको पनि उनले दोहर्याएका छन् । ‘बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त कानुनी कारबाहीको दायरामा आएका छन् ।
निकै संवेदनशील रहेको यस घटनाको सफल अनुसन्धान गर्दै अभियुक्त पक्राउ गर्न सफल नेपाल प्रहरी सहितको टिमलाई धन्यवाद ।’ उनले भनेका छन्, ‘सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न गृहमन्त्रालय संवेदनशील रहेको तथा यस्ता घटनामा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन प्रतिवद्ध रहेको दोहोर्याउन चाहन्छु ।’








