काठमाडौं । पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमाथि रहेको चाँदीको जलहरी जीर्ण भएको भन्दै क्षमापूजासहित सुनको जलहरी राख्ने कार्य भइरहेको छ । रणबहादुर शाहको शासनकालमा राखिएको चाँदीको जलहरी जीर्ण भई पशुपतिनाथलाई चढाइएका जल, पञ्चामृत आदि चुहिन थालेपछि सो जलहरी परिवर्तन गर्न लागिएको हो । १ सय २१ जना पण्डितले शिव र शक्तिको आराधना गरेसँगै क्षमापूजा शुरू गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा . प्रदीप ढकालले जानकारी दिए ।
जलहरी राख्नुअघि भारतबाट आएका २५ जना पण्डित तथा नेपालका ९६ पण्डितले शनिबारदेखि विधिपूर्वक पाठ, जप, हवन आदि गरिरहेका पण्डित लक्ष्मण पन्थी बताउँछन् । सो पूजा आगामी बुधबारसम्म चल्नेछ ।सुनको जलहरी निर्माण कार्य थालिएका एक हप्तामा सुनको जलहरी राखिसक्ने कोषले जनाएको छ । पशुपति क्षेत्रमै कालीगढ राखेर नेपाली सेनाको सुरक्षासहित सुनको काम भइरहेको छ । जलहरी सुनको बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले ३० करोडको सुन नेपाल राष्ट्र बैंकमार्फत उपलब्ध गराएको छ ।
सुनको जलहरी बनाउन १ सय ८ किलो सुन लाग्ने कोषले जनाएको छ । गत माघ १२ पशुपतिनाथमा लाख बत्तीसहित विशेष पूजा गर्न पुगेका प्रधामन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्न कोषलाई ३० करोड रुपियाँ बजेट दिन संस्कृतिमन्त्री भानुभक्त ढकाललाई निर्देशन दिएका थिए । मूल मन्दिरको छाना र बसाहामा पनि सुनको लेप लगाउने गरी काम भइरहेको छ । यसका लागि करिब ३४ किलो सुन लाग्ने अनुमान गरिएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।








