काठमाडौँ । प्रतिनिधि सभा विघटन मुद्दालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले आज ‘हेर्दाहेर्दै’को पेसीमा राखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा गरेकी थिइन् । त्यसपछि उक्त कदमविरुद्ध सर्वोच्चमा १३ वटा रिट दायर भएका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा उक्त मुद्दामा रिट निवेदक र सरकारी पक्षको बहस यसअघि नै सकिएको थियो । त्यसपछि रिट निवेदकका वकिलहरू र एमिकस क्युरी (अदालतको सहयोगी) वकिलहरुको बहस नोट पेस गरिसकेपछि मुद्दा छिनोफानोतिर गएको हो । स्रोतका अनुसार मुद्दामा फैसला अब जुन दिन पनि आउन सक्छ ।
बढीमा दुई-तीन दिनभित्र फैसला भैसक्ने बताइएको छ । ५ न्यायाधिश रहेको संवैधानिक इजलासले सकेसम्म सर्वसम्मत राय बनाउने प्रयास गरिरहेको छ ।








