काठमाडौँ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपाका सांसदहरुको विरोधका कारण प्रतिनिधिसभाको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्नि सापकोटाले सूचना टाँसेर जानकारी दिएका हुन् ।
पाँच वर्षे कार्यकाल भएर पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादका कारण तीन वर्षमै विघटन भएको प्रतिनिधिसभाको बैठक सर्वोच्च अदालतको आदेशपछि आजदेखि शुरु भएको हो । बैठकलाई नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले बैठक बहिष्कार गरेको थियो भने संवैधानिक परिषद् सम्बन्धि अध्यादेशको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रोष्टम घेराउ गरेको थियो।
त्यसपछि बैठक १० मिनेटका लागि बैठक स्थगित गरिएको थियो । सहमतिमा पुग्न नसकेपछि सभामुख सापकोटाले अर्को बैठक २६ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन्।








