काठमाडौं । प्रतिनिधिसभा विघटन र पुनस्र्थापनापछि सत्तारूढ र इतरका दलबीच राजनीतिक तिक्तताको अवस्था बढिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक आह्वान गरेकी छन् ।
राष्ट्रपति भण्डारीले संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेता र पूर्वप्रधानमन्त्रीलाई मंगलबार दिउँसो चार बजेका लागि सर्वदलीय बैठकमा बोलाएकी हुन् । राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले पूर्वप्रधानमन्त्रीसहित संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको जानकारी दिए ।
‘पूर्वप्रधानमन्त्री र संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका मुख्य नेतालाई सर्वदलीय बैठकमा बोलाइएको हो,’ राष्ट्रपतिका स्वकीय सचीव अधिकारीले राजधानीसँग भने । बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको हो ।
राष्ट्रपतिले यसअघि नै दलसँग छलफल गर्न चाहे पनि कोरोना जोखिमका कारण त्यो सम्भव नभएको र अहिले खोपको उपलब्धतासँगै त्यो सजिलो भएको शीतल निवासको भनाइ छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।








