काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेको छ । सर्वोच्च अदालतको आदेशपछि ब्युँतिएको माओवादी केन्द्रको पहिलो संसदीय दलको बैठकले यस्तो आग्रह गरेको हो ।
‘केपी शर्मा ओलीको कदम असंवैधानिक भएको सर्वोच्चले निर्णय गरिसकेको सन्दर्भमा उहाँले नैतिक रुपले राजीनामा दिनुपर्छ ।’ बैठकपछि निर्णय सुनाउँदै नेता वर्षमान पुनले भने । बैठकले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङलाई चयन गरिएको पुनले बताए।
यस्तै, बैठकले राष्ट्रिय सभामा दलको नेतामा दीननाथ शर्मालाई निरन्तरता दिने निर्णय गरेको छ । बैठकले संसदीय विधान मस्यौदाका लागि पनि तीन सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा देव गुरुङ, रामनारायण बिडारी र रेखा शर्मा छन् ।








