चितवन । दृष्टिविहीन विद्यार्थीको अध्ययनमा खर्च गर्नेगरी अक्षयकोष निर्माण गर्न नारायणगढको एभरेष्ट साकोससहित व्यक्ति तथा संस्थाले एक लाख रुपैयाँ प्रदान गरेका छन् अक्षयकोषबाट प्राप्त आम्दानी चितवनको भरतपुर–१० मा रहेको नारायणी नमूना माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुका लागि खर्च गर्ने गरी रकम प्रदान गरिएको कार्यक्रम संयोजक अनुषा चुकेले बताउनुभयो ।
एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ स्थापना दिवसको अवसर पारेर सहकारीको तर्फबाट २५ हजार रुपैयाँ प्रदान गरिएको चुकेले बताउनुभयो । सहकारीले बर्सेनि वार्षिकोत्सवको अवसर पारेर सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि सहयोग गर्दै आएको संयोजक चुकेले बताउनुभयो । त्यस्तै, बाँकी ७५ हजार रुपैयाँमध्ये ५० हजार रुपैयाँ नारायणी मोटर्स र २५ हजार रुपैयाँ लायन्स क्लब अफ नारायणगढ बालकुमारीले प्रदान गरेको क्लबका पूर्व अध्यक्ष एवं नारायणी मोटर्सका सञ्चालक बालगोपाल चुकेले बताउनुभयो ।
मङ्गलबार नारायणी नमूना माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापालाई रकम प्रदान गर्दै चुकेले सो रकम अक्षयकोषमा जम्मा गर्न आग्रह गर्नुभयो । विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुको लागि आवश्यक पर्ने रकम विभिन्न संघसंस्थाले दिने गरेकोमा अक्षयकोष निर्माणबाट केही भए पनि राहत मिल्ने चुकेले बताउनुभयो । बालबालिकाहरुको शिक्षामा प्रभाव नपरोस् भन्ने हेतुले अक्षयकोष स्थापनाका लागि रकम प्रदान गरिएको भन्दै चुकेले आगामी दिनमासमेत सहयोगले निरन्तरता पाउने बताउनुभयो । सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापाले विद्यालयमा ३२ जना दृष्टिविहीन तथा २३ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरु अध्ययनरत भएको बताउनुभयो ।
विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुको विद्यालयको छात्राबासमा बस्दै आएका भए पनि बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरु भने आफ्नै घरमा जाने गरेका थापाले बताउनुभयो । दृष्टिविहीन भएका विद्यार्थीहरुले ब्रेललिपीबाट पढ्न पाउने भए पनि उनीहरुले परीक्षा दिँदा सहयोगी राख्नुपर्दा समस्या हुने गरेको थापाको भनाइ थियो ।








