गैँडाकोट । स्तरोन्नती हुँदै गरेको तर कामको गति सुस्त रहेको नारायणघाट बुटवल सडक खण्डमा संसदीय समितिले चासो देखाएको छ । प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आज बसेको बैठकले नारायणघाट–बुटवल सडक खण्ड आयोजनाको निर्माण कार्य तोकिएको समयभित्रै सम्पन्न हुने गरी शुरु गर्न नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।
पूर्वतयारी बिना काम अगाडी बढाएको निष्कर्ष निकाल्दै समितिले सबै प्रक्रिया पुरा गरी तोकिएकै समयभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी काम शुरु गर्न निर्देशन दिएको हो । समितिले नेपालमा सञ्चालनमा रहेका आयोजनाहरुको होडिङ बोर्ड लगायतका डकुमेन्टहरु अंग्रेजी भाषामा हुँदा आम नागरिकले नबुझ्ने भएकाले नेपाली भाषामा लेख्ने व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
न्युन क्षमताका निर्माण व्यवसायीबाट काम भइरहेकोले आयोजना समयमा सम्पन्न हुन नसक्दा यात्रुहरुले अनावश्यक रुपमा सास्ती बेहोर्नु परिरहेकाले गुणस्तरीय रुपमा तोकिएको समयमा आयोजना सम्पन्न हुनेगरी कार्य अगाडी बढाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ, समितिले भनेको छ । समितिले समितिमा रहेका सांसद र कर्मचारीले निकट समयमा नारायणघाट–बुटवल सडक खण्डको स्थलगत अवलोकन भ्रमण गर्ने निर्णय पनि गरेको छ ।








