चितवन । मोडिफाइ गरी ठूलो आवाज निकाल्ने बनाइएका ३४ वटा मोटरसाइकल चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो (शुक्रबार) चितवनका विभिन्न स्थानबाट ३४ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले शनिबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ ।
नियन्त्रणमा लिइएका मोटरसाइकललाई प्रहरी कार्यालमा राखिएको छ । मोटरसाइकल धनी आँफैलाई वर्कशपबाट मेकानिक बोलाएर मोटरसाइकलको वास्तविक स्वरुपमा परिवर्तन गर्न लगाइएको प्रहरी कार्यालयका प्रमुख एवं एसपी ओम अधिकारीले जानकारी दिए । वास्तविक स्वरुपमा बदली सकेपश्चात जरिवाना गराएर अभिभावकको जिम्मा लगाइ पठाइने उनले जनाए ।
जरिवाना रकम एक हजारदेखि ५ हजारसम्म रहेको छ । साइलेन्सरको पाइपमा रेडबुलको बट्टा हालेर समेत ठूलो आवाज आउने बनाउने गरेको पाइएको एसपी अधिकारीले बताए । यस्तै उनले मोडिफाइ गर्नेमात्र नभइ गराउने पनि दोषी हुने बताए ।
त्यसैले अब वर्कशपहरुलाई बोलाएर एक पटक सचेत गरेर पठाउने जानकारी दिँदै एसपी अधिकारीले फेरि दोश्रो पटक गल्ति दोहोराएमा वर्कशपलाई पनि कारबाही गरिने बताए ।









