काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दर्ता गरेका छन् ।
मंगलबार बिहान कानुन व्यवसायीसहित सर्वोच्च पुगेका प्रचण्डले निवेदन दर्ता गरेका हुन् । उनले सर्वोच्चले उक्त फैसला सच्याउने पनि विश्वास गरेका छन् । मुद्धा दर्ता गरेर बाहिरिएका प्रचण्डले पत्रकारसँग कुरा गर्दै भने, ‘सर्वोच्चको फैसला प्राकृतिक छैन । त्यसकारण सर्वोच्चले उक्त फैसला सच्याउने विश्वास गरेको छु ।
’ २०७५ जेठ ३ गते भएको तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भई बनेको नेकपालाई गत फागुन २३ गते सर्वोच्चले खारेज गर्दै ऋषि कट्टेलको नेकपालाई आधिकारिकता दिएको थियो ।
त्यसपछि एमाले र माओवादी केन्द्र व्यूँतिएका छन् । प्रचण्डको साथमा रमण श्रेष्ठ, रामनारायण बिडारी, मुक्ति प्रधान, शम्भु थापालगायत कानुन व्यवसायी सर्वोच्च पुगेका थिए ।








