काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले चाँडै केन्द्रमा पनि नयाँ कमिटी गठन गर्ने बताएका छन् ।
बिहीबार पोखराको न्यूरोडस्थित सिटी पार्टी प्यालेसमा खनाल-नेपाल पक्षद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै नेता नेपालले केपी ओलीलाई अध्यक्षबाट हटाएर केन्द्रमा पनि नयाँ कमिटी गठन हुने घोषणा गरेका हुन् । ‘ओलीलाई हटाएर अब चाँडै केन्द्रमा पनि कमिटी घोषणा गर्नेछौं । कमिटी बैठकहरू अब नियमित गर्नुहोस् ।’ उनले भनेका छन् ।
सबै ठाउँमा संगठित भएर केन्द्रमा पनि घोषणा गर्ने उनको भनाई छ । यस्तै, भेलाले कास्कीमा ७५ सदस्यीय समानान्तर कमिटी गठन गरेको छ । धनराज आचार्यको नेतृत्वमा रहेको कमिटीको सचिवमा होमबहादुर नेपाली रहेका छन् । केही समयभित्रै अर्को भेला गरेर पार्टीको पूर्ण कमिटी घोषणा गर्ने बताइएको छ ।
भेलामा नेतानेपालसहित सुरेन्द्र पाण्डे, तुलबहादर गुरुङ, चूडामणि जंगली, श्रीनाथ बराल र मदनकाजी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।








