काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता पौडेलले ओलीले राजीनामा नदिए काँग्रेसले संसदमा अविश्वासको प्रस्ताव लैजाने बताएका हुन् । ओलीलाई नहटाए लोकतन्त्र खतरामा रहने भन्दै उनले दलहरुबीच वार्ता गरेर काँग्रेसको नेतृत्वमा सरकार बनाउने बताए ।
‘उहाँले राजीनामा दिनुहुन्न भने अविश्वास प्रस्ताव राखेर हामी हटाउछौं।’ उनले भनेका छन्, ‘सरकार बाहिर रहेका तीनवटा दलबीचमा पहिले हामी वार्ता गर्छौं र सहमति गरेर प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव हामी पेश गर्छौं ।’
शुक्रबार मात्र बसेको काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्न अग्रसरता लिने निर्णय गरेको थियो ।








