काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थीले आजदेखि सांसद पद गुमाउने भएका छन्। नेकपा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका न्यौपाने र पन्थीलाई पार्टीले कारवाही गरेपछि उनीहरुको सांसद पद गुम्ने भएको हो ।
आज बस्ने प्रदेश सभा बैठकमा सभामुखले उनीहरूलाई माओवादी केन्द्रले कारबाही गरेको पत्र पढेर सुनाउने कार्यक्रम छ । सर्वोच्च अदालतले एकिकृत नेकपाको गठबन्धनलाई खारेज गरिदिएपछि व्यूँतिएको माओवादी केन्द्रका न्यौपाने र पन्थी एमालेतर्फ लागेका थिए । हाल न्यौपाने र पन्थी एमालेको केन्द्रीय सदस्यमा मनोनित भैसकेका छन् ।
पार्टी परित्याग गरेपछि न्यौपाने र पन्थीलाई माओवादी केन्द्रले स्पष्टिकरण सोधेको थियो। तर, न्यौंपाने र पन्थीले दिएको स्पष्टिकरण चित्तबुझ्दो नभएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदमुक्त गर्न पत्राचार गरेका थिए ।
राजनीतिक दलसम्बन्धी दफा ३४ मा दल परित्याग गर्ने सदस्य सांसद नहुने व्यवस्था छ। न्यौपाने रूपन्देही क्षेत्र नम्बर १ को २ र पन्थी गुल्मी निर्वाचन क्षेत्र नम्बर २ को २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।








