काठमाडौं । सार्वजनिक विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन अझै पनि सरकारको धेरै ठूलो लगानी भौतिक पूर्वाधारकै क्षेत्रमा हुने गरेको पाइएको छ ।
सूचना प्रविधि, पुस्तकालय, नवीन प्रविधिको तुलनामा कक्षाकोठा तथा शौचालय निर्माणमा नै सरकारको ठूलो धनराशि खर्च हुने गरेको पाइएको छ । सरकारले हालै मात्र कार्यान्वयनमा ल्याएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा विनियोजित बजेटमध्ये सबैभन्दा धेरै दुई अर्ब ६७ करोड रुपियाँ कक्षाकोठा निर्माणका लागि विनियोजन गरिएको छ ।
त्यसबाट दुई हजार ९६८ कक्षाकोठा निर्माण गर्ने लक्ष्य लिइएको छ । त्यसका साथै विद्यालयमा शौचालयको निर्माणका लागि २१ करोड रुपियाँ विनियोजन गरिएको छ । यसबाट ३११ वटा शौचालय निर्माण गर्ने सरकारी लक्ष्य छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले सरकारको धेरै ठूलो धनराशि भौतिक निर्माणकै क्षेत्रमा हुने अवस्था रहेको बताए ।
यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट समेत विद्यालयका भौतिक संरचना निर्माण भएको तथा स्थानीय तहमा पठाइएको बजेटबाट समेत भौतिक संरचनाको काम हुने गरेको उल्लेख गर्दै उनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको ठूलो हिस्सा पनि निर्माणकै क्षेत्रमा हुने अवस्था रहेको बताए । यो अवस्था अझै केही वर्षसम्म रहने स्थिति देखिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।








