काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको आजको बैठक पनि आयोगको प्रतिवेदन र शोक प्रस्तावमै सीमित भएको छ । हालै संघीय संसद् सचिवालयले जारी गरेको कार्यसूचीअनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोग र थारु आयोगको वार्षीक प्रतिवेदन पेश गरिनेछ ।
सभामुख अग्निप्रसाद सापकोटाले पुर्वसांसद ऐश्वर्यलाल प्रधानाङगको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन् । बैठकको कार्यसूचीबाट सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विवादास्पद विधेयकको प्रतिवेदन पेस हुने विषय भने हटेको छ । बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रले विरोध गरेपछि उक्त विषय कार्यसूचीबाट हटाइएको हो ।
उक्त विधेयकमा सामाजिक सञ्जालमा सरकारको विरोध वा आफ्नो मनको कुरा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान छ ।








