काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि तीन दलको बैठक बोलाएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार दिउँसो ३ः०० बजे पार्टी कार्यालय सानेपामा जनता समाजवादी पार्टी (जसपा) र नेकपा (माओवादी केन्द्र)सँगको बैठक बोलाएका हुन् ।
जसपा र माओवादी केन्द्र दुवै पार्टीलाई बैठकबारे जानकारी दिइसकिएको एक कांग्रेस नेताले जानकारी दिए । केही दिनअघि मात्र कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने र आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्न अग्रसरता लिने निर्णय गरिसकेको अवस्थामा बोलाइएको यो बैठकलाई महत्वका साथ हेरिएको छ ।








