चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले चैत महिनामा मात्रै ठुलो संख्यामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । चितवन प्रहरीले चैत महिना मात्रै बिभिन्न मुद्धाका फरार १७१ जना प्रतिवादीलाई पक्राउ गरेको हो । जिल्ला अदालतको बिभिन्न मितिको फैसलाले कैद र जरिवाना तोकिई फरार रहेका उनिहरुलाई प्रहरी कार्यालय चितवनद्धारा परिचालित बिशेष टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा सार्वजनिक अपराध, लागु औषध, चोरी, सवारी ज्यान, वन तथा राष्ट्रिय निकुन्ज, हातहतियार खरखजाना, कुटपिट कालो बजारीलगायतका मुद्धाका फरार प्रतिवादीहरु रहेका छन् । पक्राउ पर्ने मध्ये केही कुटपिट र सवारी ज्यान मुद्धामा २३ वर्षदेखिका फरार प्रतिवादीहरु समेत रहेको चितवनका प्रहरी प्रवक्ता डिएसपी सुर्य थापाले जानकारी दिए ।
उनिहरुबाट १८ वर्ष तीन महिना ५ दिन कैद र ७ लाख ७५ हजार ४३० जरिवाना असुल भएको डिएसपी थापाले बताए । यससँगै चालु आर्थिक वर्षमा अहिलेसम्म ३८६ जना फरार प्रतिवादीहरु पक्राउ परेका छन् । उनिहरुबाट ५१ वर्ष ३ महिना र ३२ लाख ६२ हजार २०६ रुपैयाँ असुल भएको छ । यसअघि गत आर्थिक वर्ष २०७६७७ मा जम्मा १७४ जना फरार प्रतिवादीहरु पक्राउ परेका थिए ।








