चितवन । पूर्वी माडीको कृष्णनगरस्थित प्रस्तावित अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूणर्कदका मूर्तिहरु स्थापना गरिने भएपछि निर्माणका कार्यहरु तीब्र रुपमा अगाडि बढेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राखिएका मूर्तिहरु आउँदो बैशाख गते ८ रामनवमी पर्वको दिन रथयात्रा सहित अनावरण हुने भएसंगै मुर्तीहरु राख्ने (अस्थायी) मन्दिरसंगै सत्तल, धारा, शौचालय आदिको निर्माणकार्यले तीब्रता पाएको हो भने सो स्थान अवलोकन गर्न आउनेहरुको चहल पहल पनि बढेको छ ।
माडीमा सर्वदलीय सहमति र सामाजिक संघ संस्थाहरुको समन्वयमा तयारीका कार्यहरु अगाडि बढिरहेको माडी नगरपालिकाका प्रवक्ता एवं माडी ९ का वडाध्यक्ष शिवहरि सुवेदीले जनाउनुभयो । रामनवमी विशेष कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गर्न ११ वटा उपसमितिहरु मार्फत तीब्ररुपमा काम भइरहेको पूजा व्यवस्थापन समितिका अध्यक्ष तीर्थ भुसालले बताउनुभयो ।
कार्यक्रमको तयारी तीब्र भएसंगै नगद तथा जिन्सी सहयोग संकलन समेत तीब्र भएको छ । दान र सहयोगलाई व्यवस्थित गर्न ग्लोबल आई.एम.ई. बैकको माडी शाखामा अयोध्या धाम व्यबस्थापन समितिको नामबाट ३०१०१००००५०८ नम्बर रहेको बैंक खाता सञ्चालन भएको प्रचार प्रसार उपसमितिका संयोजक श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो ।








