चितवन । नयाँ विद्यार्थी भर्नासम्बन्धी विषयमा चितवनको रामपुर कृषि क्याम्पसमा दुई विद्यार्थी संगठनबीच झडप भएको छ । विद्यार्थी भर्नालाई लिएर अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघबीच झडप भएको हो ।
झडपमा चार जना घाइते भएका छन् । अखिल क्रान्तिकारीका विद्यार्थीको आक्रमणबाट नेविसंघ इकाइ सभापति दिपेश बानियाँ र खेमराज उपाध्याय गम्भीर घाइते भएका छन् ।
घाइते दुबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य दुई जना घाइतेको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
विद्यार्थी नेतामाथि सांघातिक हमला भएको भन्दै घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगानाले माग गरेका छन् ।








