चितवन। बच्चाहरुमा जन्मजातै खुट्टाको पैताला बाङ्गो हुने (क्लवफुट) रोग उपचार पछि पनि दोहाेरिन सक्ने भएकाले सचेत हुन अभिभावकलाई चिकित्कसले आग्रह गरेका छन् । आज शनिबार भरतपुरमा एक कार्यक्रम गरेकाे क्लवफुट रोगको उपचार बारे जानकारी दिएको छ। कार्यक्रममा क्लबफुट समस्या देखिएकाे बच्चाले उपचारपछि निरन्तर जुत्ता (स्प्लीन्ट) प्रयोग गरेन भने क्लबफुट दोहाेरिन सक्ने चिकित्सकले बताएका हून् ।
अन्तरकृया कार्यक्रममा चितवन मेडिकल कलेजका वरिष्ठ हाडजोर्नी तथा नशा राेग विशेषज्ञ डा.गौरव न्यौपाने क्लबफुटको समस्या जन्मजातदेखि नै खुट्टामा हुने बताउनुभयो । उहाँले बच्चाको सामान्य खुट्टामा आकार विकार बिग्रदै जाने र राम्रोसंग भुईमा टेक्न नसक्ने समस्यालाई क्लवफुट भन्ने गरेको बताउनुभयो । उहाँले नेपालमा क्लव फुटसम्बन्धी एकीन तथ्याङ्क नभए पनि यो समस्या प्रत्येक दुई हजार शिशुमा एक जनालाई देखिने बताउभयो ।
डा. न्यौपानेले क्लव फुटको समस्या बालिका भन्दा बालकमा धेरै देखिने जानकारी दिनुभयो । उहाँले रोगको पहिचान गरि समयमानै उपचार गर्ने हो भने यो रोग निको हुने बताउनुभयो । कतिपय अवस्थामा अभिभावकले ख्याल नगर्दा रोग बल्जिएको बताउनुभयो । डा. न्यौपानेले क्लव फुट भएका बालबालिकाहरुलाई स्प्लीन्ट (विशेष जुत्ता), पोन्सेटी (प्लास्टर) र थेरापी विधिबाट उपचार गराउन सकिने बताउनुभयो । त्यस्तै चितवन मेडिकल कलेज पिसिएल कार्यक्रमका सहायक प्रधानाध्यापक मुकेश मल्लिकले आफ्नो छोराको पनि क्लबफुट दोहाेरिएको अनुभव साट्नुभयो।
उहाँले आफैं स्वास्थ्य क्षेत्रमा कार्यरत रहेको हुँदा यसबारे जानकारी दिनु आवश्यक रहेको बताउनुभयो । उहाँले क्लवफुट रोग प्रत्येक तीन जना मध्ये दुई जना केटामा देखा पर्ने गरेको बताउनुभयो । उहाँका अनुसार, उपचारमा आएका मध्ये ४० जनामा क्लवफुट रोग दोहरिने गरेको छ । यसका लागि अभिभावकहरु सचेत हुनु आवश्यक रहेको उहाँको भनाइ छ ।
क्लव फुटको उपचारको लागि बालबालिबाले कम्तिमा ३ देखि ५ वर्षसम्म स्प्लीन्ट लगाए उपचार हुने उहाँको भनाइ थियो । कार्यक्रममा फिजियोथेरापिष्ट मञ्जु पोखरेलले क्लव फुट भएका बालबालिकालाई थेरापी गर्न सिकाउनु भएको थियो भने कार्यक्रमको सहजिकरण प्रमिता ढकालले गर्नुभएको थियो ।








