काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्नेछ । आजको बैठकमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि थप्न प्रस्ताव पेस गर्ने र पूर्वनिर्धारित १४औं महाधिवेशनको कार्यतालिका हेरफेरबारे छलफल गर्ने बताइएको छ ।
यसअघि जिल्लाले नयाँ क्रियाशील सदस्यता र नवीकरणको सूची चैत ३० गतेसम्म केन्द्रमा पठाउने अवधि तोकिएपनि उक्त समयमा सम्भव नभएपछि अवधि थप्न लागिएको हो । त्यस्तै, बैठकमा केन्द्रदेखि प्रदेशसम्मका समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ । यसअघि चैत्र ३० गते बस्ने तय भएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएपछि आजसम्मका लागि स्थगित गरिएको थियो ।








