काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई घेरबन्दी गर्न खोजिएको बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा सभामुख सापकोटाले संघीय संसदलाई गतिशिल बनाउन खोज्दा घेराबन्दी गरिएको बताए ।
संसदको काम कारबाहीलाई लिएर भ्रम छर्न खोजिएको पनि उनको भनाई छ । अहिले पनि घेराबन्दी गरेर विभिन्न टिकाटिप्पणी गर्न थालिएको उनले बताए । यसरी भ्रममा पारेर सँधै कसैलाई बसमा पार्न नसकिने पनि बताए । सापकोटाले देश र जनताको हितको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने बताए ।
शनिबार बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा दर्ता भएको एमसीसी प्रस्ताव सभामुखले रोकेको आरोप लगाएका थिए । सभामुख सापकोटाले एमसीसी सम्बन्धी विधेयकको प्रसंग नभने पनि आफूलाई स्वतन्त्रपूर्वक काम गर्न कसैले रोक्न नसक्ने बताए ।








