काठमाडौँ । नेकपा माओवादी केन्द्रले छिट्टै नयाँ सरकार गठन प्रक्रिया सुरु हुने बताएको छ । स्थायी कमिटीको मंगलबार बसेको बैठकले जनता समाजवादी पार्टी (जसपा)ले निर्णय गर्नासाथ नयाँ सरकार गठन प्रक्रिया सुरु हुने निष्कर्ष निकालेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन् ।
एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन जसपाको साथ अनिवार्य भएकाले उक्त पार्टीको निर्णय कुरिरहेको उनको भनाई छ । ‘यो सरकारविरुद्ध हामी अविश्वास प्रस्ताव ल्याउन तमतयार छौं । जसपा सहमत हुने बित्तिकै दर्ता हुन्छ ।’ प्रवक्ता श्रेष्ठले भने ।
यस्तै, प्रवक्ता श्रेष्ठले नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार गठन गर्ने सन्दर्भमा एमसिसीबारे सम्झौता भएको भन्नेकुरा भ्रमपूर्ण मात्रै रहेको पनि स्पष्ट पारेका छन् ।








