चितवन । देवघाटधाम अवस्थित श्री हरिहर मन्दिर पुननिर्माण तथा श्रीपरमानन्द–संस्कृत गुरुकुल–विद्यापिठम्को स्तारोन्नतिका लागि भूमिदान महादान अभियानको शुभारम्भ गरिएको छ ।आज (बुधबार) पत्रकार सम्मेलन गरि संस्कृत गुरुकुल–विद्यापिठम्को स्तारोन्नतिका लागि भूमिदान महादान अभियानको वारेमा जानकारी दिइयो ।
कार्यक्रममा श्री हरिहर मन्दिर, हरिहर सन्न्यास आश्रम तथा श्रीपरमानन्द–संस्कृत गुरुकुल–विद्यापिठका पीठाधीश एवं अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले आश्रममा बिद्यार्थी बटुकको चाप बढेसँगै मन्दिरसँगै जोडिएको करिब २० रोपनी भूमि खरिद गर्ने प्रक्रिया अघि बढाईएको बताउनुभयो । उहाँले सो कार्यका लागि देवघाटमा मन्दिरसँगै रहेका करिब १०–१५ घर स्थानान्तरण गरि जग्गा खरिद गर्न लागिएको बताउनुभयो ।
उहाँले करिब ११ सय बढि बिद्यार्थी अट्न सक्ने गरि स्तरीय संस्कृत शिक्षा प्रदान गर्ने आश्रमले उद्देश्य लिएको जानकारी दिनुभयो । सो कार्यका लागि ७० देखी ८० करोड आवश्यकता रहेको जनाउँदै उहाँले चन्दा र सहयोगबाट नै आश्रम सञ्चालन गरिदैँ आएकोमा भूमिदान महादान अभियानको शुभारम्भ गरिएको बताउनुभयो ।आश्रममा हाल साढे २ सय भन्दा बढि विद्यार्थी बटुकले निःशुल्क आवाससहित आधारभूतदेखी स्नातकोत्तर तहसम्म अध्ययन गर्दै आईरहेका छन् ।
त्यस्तै विजय फाउण्डेशन नेपालका अध्यक्ष त्रिलोचन सापकोटाले अभियानमा सबैको सहयोगको अपेक्षा गरिएको बताउनुभयो । सबैको सहयोगले नै मन्दिर र आश्रमले साकार रुप लिने बताउँदै पूण्य भूमि देवघाटमा सहयोग गरि पूण्य कमाउन उहाँले आग्रह गर्नुभयो । शुभारम्भ कार्यक्रममा चन्दा र भूमि गरि करिब १ करोड बराबरको सहयोग प्राप्त भएको छ । भूमिदानका लागि १ दाम बराबर ५० हजार रुपैयाँ, १ रोपनी बराबर १ करोड २८ लाख रुपैयाँ कायम गरिएको छ ।








