चितवन । जिल्ला प्रशासन कार्यालय, चितवनले आज रात १२ बजेदेखि लागु हुने निशेधाज्ञामा थप कडाई गर्ने भएको छ । निषेधाज्ञा अवधिभर खाद्यान्न तथा तरकारी पसल निश्चित समयमा मात्रै सञ्चालन पाइने भएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज एक आदेश जारी गर्दै खाद्यान्न, तरकारीलगायतका सेवा दिने पसलहरु बिहान ६ देखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने जानकारी दिएका हुन् । प्रजिअ लामिछानेका अनुसार तरकारी, फलफुल, खाद्यान्न, माछा, मासु, अण्डा, पानी र निर्माण सामाग्री बिक्री गर्ने पसल तथा व्यवसायहरु बिहान ३ घण्टा मात्र सञ्चालन गर्न पाइनेछ । यस्तै उद्योग कलकारखाना सञ्चालन गर्दा कर्मचारी तथा कामदार सबैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने र उद्योग परिसर भित्रै आवासको व्यवस्था गर्नुपर्ने उनले बताए ।
उद्योग परिसर भित्रै आवासको व्यवस्था गर्न नसके कर्मचारी तथा कामदारलाई उद्योगले नै ल्याउने लाने व्यवस्था गर्नुपर्ने जारी आदेशमा भनिएको छ । कोरोना संक्रमित बढेसँगै प्रशासन कार्यालयले आज राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । अत्यावश्यक बाहेकका सेवाहरु बन्द रहने गरी प्रशासनले ३१ गतेसम्म निषेधाज्ञा गर्न लागेको हो ।








