चितवन । चितवन जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका थप १ सय ६० जना नयाँ संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार दिउँसो प्रकाशन गरेको अध्यावधिक दैनिक कोभिड–१९ विवरणका अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा १५६ तथा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो ।
पीसीआर परीक्षणका लागि पछिल्लो २४ घण्टामा ५ सय ९० जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सोसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ९ सय ८८ पुगेको छ । तीमध्ये ७५ जनाले अस्पतालको आइशोलेसन कक्षमा उपचार गराइरहेका छन् भने ९ सय १३ जना घरैमा आइशोलेसनमा बसिरहेका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै भरतपुरका १ सय २१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै रत्ननगर नगरपालिकाका १६, खैरहनी न.पा.का ४, राप्ती न.पा.का ४ र माडी न.पा. का १ जनामा पनि संक्रमण पुष्टि भएको छ । कालिका न.पा.का दुई जनामा संक्रमण देखिँदा इच्छाकामना गाउँपालिकामा भने ८ जना संक्रमित थपिएका छन् ।








