काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीमा राष्ट्रिय सभाको उपनिर्वाचनबारे छलफल भएको छ। बिहीबार बालुवाटारमा बसेको बैठकमा आउँदो जेठ ६ गतेका लागि तय भएको राष्ट्रियसभा उपनिर्वाचनको बारेमा छलफल भएको परराष्ट्रमन्त्री तथा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए। उपनिर्वाचनमा एमालेबाट गृहमन्त्री रामबहादुर बादललाई उम्मेदवार बनाउने अन्तिम तयारी छ ।
त्यसका लागि मतदाताहरु, जनप्रतिनिधिसँग छलफल गर्ने पनि एमालेले निर्णय गरेको छ। यसबाट मतको विश्लेषण गरिनेछ । त्यसपछि मात्र उम्मेदवार घोषणा गर्ने ज्ञवालीले बताए। नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र नेकपा एमालेको माधव नेपाल पक्षले गठबन्धन गरेर डा खिमलाल देवकोटालाई माओवादीको चुनाव चिन्हबाट लडाउने निर्णय गरेको छ ।
त्यसकारण एमालेबाट काटिने भोटको बारेमा विश्लेषण गरेर मात्र उम्मेदवार घोषणा गर्ने बताइएको छ । देवकोटा नेपाल पक्षीय नेता हुन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसद्मा विश्वासको मत लिने विषयमा छलफल भएको छ । संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी सबै दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।








