चितवन । बुधबारको तुलनामा बिहीबार चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ । बुधबार २५५ जनामा देखिएको कोरोना सङ्क्रमण बिहीबार २०२ जनामा मात्रै पुष्टि भएको हो । यो अघिल्लो दिनको तुलनामा ५३ ले कमी हो।
बुधबारको तुलनमा बिहीबार थोरै व्यक्तिमा कोरोना पुष्टि भएको भए पनि कोरोना भाइरस नयाँ भेरियन्टसहित दोस्रो लहरमा तीव्ररुपमा फैलिरएको छ । जिल्लाका विभिन्न अस्पतालमा गरिएको पीसीआर र एन्टिजिन परीक्षणका क्रममा चितवनमा २०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
पिसीआर परीक्षणबाट १९७ तथा एन्टिजिन परीक्षणबाट पाँच जना गरी २०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । त्यस्तै कोरोना भाइरसका कारण चितवनका तीन जना सङ्क्रमितले ज्यान गुमाएका स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितमध्ये भरतपुरमा १५६, रत्ननगरमा २०, खैरहनीमा १२, राप्तीमा ५, कालिकामा ३ तथा माडीमा १ जना रहेका छन् । चितवनमा हालसम्म सक्रिय कोरोना सङ्क्रमित सङ्ख्या एक हजार ७९७ जना पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । सक्रिय सङ्क्रमितमध्ये ११५ जना अस्पतालको आइसोलेसन तथा एक हजार ६८२ जना होम आइसोलेसनमा बसेका तिवारीले बताए ।
जिल्लामा आठ हजार ८६९ जना सङ्क्रमित पुग्दा ६ हजार ९४५ जना निको भएका तथा १२७ जना सङ्क्रमितको मृत्यु भएको तिवारीले बताए । हालसम्म भरतपुर महानगरपालिकामात्रै ६ हजार ६१९ जना सङ्क्रमित पुगेका छन् । त्यस्तै रत्ननगरमा ९४०, खैरहनीमा ४८५, राप्तीमा ३६६, कालिकामा २२७, माडीमा १८२ तथा इच्छाकामनामा ४९ जना सङ्क्रमित पुगेका तिवारीले जानकारी दिए ।
तिवारीकाअनुसार जिल्लामा सङ्क्रमितमध्ये पाँच हजार ११० जना पुरुष तथा तीन हजार ७५४ जना महिला रहेका छन् ।








