काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले विश्वासको मत लिने प्रस्तावमा आफूहरु तटस्थ बस्ने बताएका छन् ।
प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ठाकुरले आफ्नो माग पूरा नभएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रस्तावको पक्ष वा विपक्ष दुवैमा नभएको प्रष्ट पारेका हुन् । राजनीतिक आन्दोलनका दौरान मुद्दा चलाइएका केहीको मुद्दा फिर्ता लिइएपनि सबैको मुद्दा फिर्ता हुनुपर्ने उनको माग छ ।
‘हामी विश्वासको मत लिने प्रस्तावको पक्षमा पनि छैन र विपक्षमा पनि छैन’ उनले भने, ‘हाम्रो सांसद रेशम चौधरीलाई हामी यो बैठकमा हेर्न चाहान्थ्यौं तर उहाँ जेलमा हुनुहुन्छ । हाम्रा धेरै साथीहरु तारेखमा हुनुहुन्छ किनकी यही संविधानको कारणले ।’ यस्तै, बैठकलाई सम्बोधन गर्दै जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवले भने आफूहरु विश्वासको मतको विपक्षीमा रहेको बताएका छन् ।
सरकारले आफ्ना माग पूरा गर्न नसकेको भन्दै प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसकिने उनको भनाई छ । त्याग र बलिदानबाट प्राप्त भएको उपलब्धिलाई कसैले पनि निस्तेज पार्न नसक्ने भन्दै नेता यादवले ओली त्यही बाटोमा रहेकाले कसरी विश्वासको मत दिने भन्दै प्रश्नसमेत गरेका छन् ।
‘देश कोरोना महामारीले आक्रान्त बनेको बेला उनी राममन्दिर बनाउने अभियानमा लागे’ उनले भने, ‘जुन सदनलाई ओलीले असंवैधानिक तरिकाले ओलीले विघटन गरे, जुन संसदमाथि उनकै विश्वास छैन उनलाई कसरी विश्वासको मत दिने ?’








