काठमाडौँ । नेकपा एमालेले माधव नेपालसहित चार नेतामाथिको निलम्बनको कारवाही फुकुवा गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको हो । पार्टीका अध्यक्ष एवं काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले कारवाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको हो ।
पार्टीभित्र गुटगत गतिविधि जारी राखेको भन्दै एमालेको ओली पक्षले नेता नेपालसहित रावल, पाण्डे र भुसाल लाई ६ महिनाका लागि निलम्बन गरेको थियो । यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीका पक्षमा विश्वासको मत नपुगेपछि दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आज राति ९ बजेसम्मका लागि समय र्दिकी छन् ।
एमालेभित्र असन्तुष्ट नेता नेपालसहितका २८ सांसद २७ गतेको उक्त बैठकमा अनुपस्थित भएपछि विवाद नयाँ मोडमा पुगेको थियो । नयाँ सरकार गठनमा विपक्षी गठबन्धनलाई मत सहयोग पुग्ने गरी नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेपछि अध्यक्ष ओलीले कारबाही फुकुवाको निर्णय लिएका हुन् ।
आज राति ९ बजेसम्म विपक्षीले कुनै विकल्प निकाल्न सकेनन् भने प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेताको हैसियतमा एमालेकै ओली प्रधानमन्त्रीमा फर्कनेछन् ।








