काठमाडौँ । विपक्षी दलहरूले गठबन्धन सरकारका लागि संख्या पुर्याउन नसकेपछि प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
तीन दिनअघि प्रतिनिधिसभामा विश्वासको मत प्राप्त नगरेपछि कामचलाउमा परिणत भएका ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बेलुका प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । ओलीले शपथ भने शुक्रबार लिँदै छन् । ३८ महिनाअघि दुई तिहाइ बहुमतको प्रधानमन्त्री बनेका ओली आफ्नै कार्यशैलीका कारण सहयात्री दलहरूको विश्वास क्रमशः गुमाउँदै अल्पमतमा पुगेका हुन् ।
गत सोमबार प्रतिनिधिसभामा विश्वासको मत प्राप्त नगरेपछि राष्ट्रपति भण्डारीले बिहीबारसम्मको समय सीमा तोकेर दलहरूलाई गठबन्धन सरकार बनाउन आह्वान गरेकी थिइन् । तर दलहरूले बहुमत जुटाउन नसकेपछि ओली नै मुलुकको ४२ औं र आफ्नो जीवनमा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन् ।
यसअघि उनी २०७४ फागुन ३ र २०७२ असोजमा माओवादी केन्द्रको समर्थनमा प्रधानमन्त्री भएका थिए । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अन्तर्गत दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा प्रधानमन्त्रीको दाबी गर्न दिएको समय सीमा बिहीबार राति ९ बजे सकिँदासम्म कसैको पनि दाबी नपरेपछि ओली नै प्रधानमन्त्री बन्ने ढोका खुलेको हो ।
प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेताको हैसियतमा संविधानको धारा ७६ (३) अनुसार पुनः प्रधानमन्त्री बनेका ओलीले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ ।यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।








