भरतपुर । लिपुलेक क्षेत्रको नेपाली भूमि भारतले मिचेको विरोधमा शान्ति समाज चितवन शाखाले भरतपुरमा मौन धर्ना गरेको छ । भारतले पछिल्लोपल्ट नेपाली भूमिसमेत मिचेर चीनको मानसरोवर जाने सडक बनाएपछि देशव्यापी विरोध भइरहेको छ ।
भरतपुरको चौबिसकोठीमा दिउँसो १ देखि २ बजेसम्म मौन धर्ना गरिएको हो । शान्ति समाजले धर्नामार्फत भारत सरकारलाई सीमा मिच्न बन्द गर्न तथा नेपाल सरकारलाई तत्काल राजनीतिक तथा कुटनीतिक प्रयासबाट आफ्नो भूमि संरक्षण गर्न दबाब दिएको हो ।उनीहरुले ‘नेपाली सार्वभौमिकता संरक्षण गर’, ‘कालापानीबाट भारतीय सेना फिर्ता गर’, ‘कुटनीतिक प्रयास तीव्र पार’, ‘सडक निर्माण तत्काल बन्द गर’लगायत प्लेकार्ड कोकेका थिए । शान्ति समाजले मंगलबार देशव्यापीरुपमा विरोध प्रदर्शन गरेको जिल्ला सभापति काशिराम गिरीले जानकारी दिए ।








