काठमाडौं । अनौपचारिक रुपमा विभाजित जनता समाजवादी पार्टी (जसपा) नेपालमा एक पक्षले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने क्रम सुरु भएको छ । मंगलबार अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई तीन दिनभित्र स्पष्टीकरण सोधेका थिए । तर, सोही दिन अर्का अध्यक्ष यादवले पनि ठाकुरलाई नौ बुँदे स्पष्टीकरण सोधेका हुन् ।
साथै, ठाकुर पक्षका राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पनि स्पष्टीकरण सोधिएको छ । ठाकुरले पार्टीको निर्णय विपरीत गुटगत गतिविधि सञ्चालन गर्दै आएको भन्दै पार्टीका अर्का अध्यक्ष यादवलाई स्पष्टीकरण सोधेका हुन् । अध्यक्ष यादवलाई तीन दिनभित्र पार्टी कार्यालयभित्र पठाउने गरी सातबुँदे स्पष्टीकरण सोधिएको छ ।
स्पष्टीकरणमा लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई निष्काशन गरेको, विपक्षी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)सँग मिलेर सर्वोच्च अदालतमा संसद् पुनःस्थापनाको माग गर्दै रिट निवेदन दायर गर्न गएको र एकलौटी रुपमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बसी निर्णय गरिएको विषयमा प्रश्न सोधिएको छ ।
त्यसैगरी, पार्टीको संसदीय दलको निर्णयानुरूप प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा ठीक विपरीत विपक्षी गठबन्धनका उम्मेदवार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन कुन कारणले हस्ताक्षर गरेको तथा सर्वोच्च अदालतमा पार्टीको निर्णयबेगर विपक्षी गठबन्धनको रिटमा किन हस्ताक्षर गरेको भनी प्रश्न उठाइएको छ ।








