हेटौँडा । मकवानपुरको पश्चिममा पर्ने मनहरी गाउँपालिकाको मनहरी सहितका बजार हप्तामा दुई दिनमात्रै पसल खुल्ला हुने भएको छ। लकडाउनलाई थप प्रभावकारी बनाउन बिहिबार बसेको लकडाउन अनुगमन समितिकी संयोजक मनिला बिष्टको अध्यक्षतामा इलाका प्रहरी कार्यालय मनहरीमा बसेको बैठकले अत्यावश्यकीय औषधीजन्य पसल र कृषि तथा पशुसम्बन्धी पसलहरुबाहेक अन्य तरकारी र खाद्यान्न खरिदका लागि यसअघि दैनिक बिहान ९ बजेसम्म खुल्दै आएको बजार अब हप्तामा दुई दिनमात्रै खोल्ने निर्णय गरेको हो । अब हरेक आइतबार र बिहिबार विहान १० बजेदेखि ४ बजेसम्म मात्र खाद्यान्न र तरकारी पसलहरु खुल्ने भएको छ।यो निर्णय मनहरी गाउँपालिकाको ९ वटै वडामा लागु हुने समितिकी संयोजक मनिला बिष्टले बताइन ।त्यसैगरी मुख्य सडक तथा शाखा सडकहरुमा गुड्ने साना सबारीहरु साइकल, मोटरसाइकल र अटोहरु पनि पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको बिष्टले बताइन । चितवनबाट भित्रिने नाका लोथरमा चेकपोष्ट राखेर चेकजाचलाई कडाइ गरिने इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले बताए ।








