एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले प्रेमिकासँग सुटुक्क विवाह गरेका छन् । ५६ वर्षीय प्रधानमन्त्री जोन्सनले शनिबार एक सानो समारोहका बीच आफूभन्दा २३ वर्ष कान्छी प्रेमिकासँग क्यारी साइमन्डस्लेसँग बिहे गरेका हुन् ।
वेस्टमिनस्टर क्याथेड्रलमा भएको विवाहमा ३० जना मानिस सहभागी भएको ब्रिटिस अखबारहरूले जनाएका छन् । विवाहमा उनीहरुका एक वर्षीय छोरा पनि उपस्थित थिए । बेलायतमा कोरोना महामारी नियन्त्रणका लागि जारी भएको मापदण्डमा विवाहमा ३० जना मानिसमात्र सहभागी हुन पाइन्छ। सोही नियमअनुसार जोन्सनले विवाह गरेको बताइएको छ।
‘यो सबै कुरा निकै गोप्य र योजनाबद्ध रुपमा गरिएको थियो । यो गोप्यताले नै यो दिनलाई विशेष बनायो ।’ बेलायती पत्रिका द सनले लेखेको छ । विवाह समारोहमा सहभागीहरूले सामाजिक सञ्जालमा नयाँ दम्पतीलाई शुभकामना दिएपछि जोन्सनले विवाह गरेको खुलेको हो। जोन्सन र साइमन्डस्ले सन् २०१८ देखि प्रेम सम्बन्धमा थिए। उनीहरूले आफ्नो सम्बन्धबारे सन् २०२० मा मात्रै खुलाएका थिए।
गत वर्षको अप्रिलमा साइमन्डस्लेले छोरालाई जन्म दिएकी थिइन्। बोरिसको यो तेस्रो बिहे हो, सन् १९८७ मा उनले अलेग्रा मस्टयन ओवेनसँग बिहे गरेका थिए, तर १९९३ मा सम्बन्ध विच्छेद भयो, त्यसपछि उनले मोरिना ह्वीलरसँग बिहे गरे । यो दम्पतीका चार छोराछोरी समेत छन् । उनीहरुबीच २०१८ मा डिभोर्स भयो ।








