काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ । नेताहरुको व्यस्तताको कारण बैठक स्थगित भएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्नेगरी बैठक बोलाइएको थियो । अर्को बैठक भोलि दिउँसो ४ बजे बस्नेछ । पार्टी एकता जोगाउन ओली पक्ष लागिरहेको छ । मंगलबार पनि कमिटीको बैठक बसेको थियो । सो पार्टीको आन्तरिक एकताबारे छलफल गर्दै एकता बचाउनका लागि अन्तिम समयसम्म पनि जारी राखिने निष्कर्ष निकालेको थियो ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको अडानबीच पार्टी विवाद बढ्दै गएपछि एकले अर्कोको निर्णय अस्वीकार गर्दै अगाडि बढिरहेका छन् । विवाद समाधानका लागि यसअघि ओली र नेपालले १० सदस्यीय कार्यदल गठन गरेका थिए । तर, पुनः विवाद बढेपछि सो कार्यदल निष्क्रिय अवस्थामा छ ।
यसैबिच एकता जोगाउन दोस्रो तहका नेताले भने सक्रियता बढाएका छन् । ओली पक्षबाट नेता सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र नेपाल पक्षबाट घनश्याम भुषाल, सरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईसहितका नेता एकता जोगाउने विषयमा छलफल गरिरहेका छन् ।








