चितवन । नेपाल सरकारले बजेट मार्फत घोषणा गरेको दैनिक उपभोग्य सामान खरिदमा दिने भनेको २० प्रतिशत छुट कार्यान्वयनमा ल्याएको छ ।
खाद्यान्नसहित अत्यावश्यक दैनिक उपभोग्य वस्तुको खरिदमा २० प्रतिशत छुट दिन बिहीबार सरकारी निकायका दुई व्यापारिक संस्थानहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सूचना जारी गर्दै जानकारी गराएका छन् ।
सरकारले बजेटमार्फत घोषणा गरेको खाद्यान्न लगायत तोकिएका दैनिक उपभोग्य वस्तुहरुमा राहत छुट दिन थालिएको संस्थानहरूले जनाएका छन् । खाद्य तथा व्यापार कम्पनीबाट बिक्री वितरण हुने चामल र कर्णालीको सिमीमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यस्तै साल्ट ट्रेडिङबाट बिक्री वितरण हुने पिठो, चिनी, नून, भटमासको तेल र खाना पकाउने एलपी ग्यासमा पनि २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
योसँगै अब साविकको मूल्यमा कम्पनीबाट बिक्री वितरण हुने चामलमा २० प्रतिशत कम मूल्यमा चामल पाइने भएको छ भने साल्ट ट्रेडिङबाट बिक्री वितरण हुने प्रति केजी पिठो ४४ रुपैयाँ, चिनी ६३ रुपैयाँ २० पैसा, नुन १६ रुपैयाँ, भटमासको तेल प्रतिलिटर १८८ रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिण्डर एक हजार १२० रूपैयाँमै पाइने भएको छ । तर सिलिण्डर भने काठमाडौँ उपत्यकामा मात्रै सुविधा रहेको सूचनामा भनिएको छ ।









