काठमाडौं । नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मंगलबार ३ जना संक्रमित थपिएका छन् भने भक्तपुर र ललितपुरमा १र१ जना कोरोना संक्रमित भेटिएका छन्। ललितपुरमा कोरोनाभाइरसको संक्रमण पहिलो पटक देखिएको हो। त्यस्तै झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका छन्। मंगलवार थपिएका मध्ये २४ पुरूष र तीन महिला छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अब कोरोना भाइरसको संक्रमण ३६ जिल्लामा पुगेको छ। यस्तै झापाका एक जना संक्रमित निको भएर मंगलबार डिस्चार्ज भएका छन् । योसंगै कोरोना निको भएर घरफर्किनेको संख्या ३७ पुगेको छ ।








