काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छुद्र भाषामा बोलेर देश चलाउन नसकिने टिप्पणी गरेका छन् । सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा आयोजित बुद्धिजीवीहरुसँगको अन्तर्क्रियामा सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संकेत गर्दै छुद्र भाषामा बोलेर देश चलाउन नसकिने बताएका हुन् ।
‘रेस्पेक्ट गर्न सक्ने व्यक्तिले देश बनाउँछ । छुद्र भाषामा बोलेर केही हुँदैन । छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?’ भन्दै देउवाले प्रश्न गरेका छन् । यस्तै, देउवाले संविधानले दिएको राष्ट्रपतिको पदीय जिम्मेवारी र कर्तव्य पूरा नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले पदको गरिमालाई नै समाप्त पारेको आरोप पनि लगाएका छन् । उनले संसद् पुनर्स्थापना भएर आफ्नो सरकार बनेपछि पहिलो प्राथमिकता सबैका लागि कोरोना भाइरसविरुद्धको निःशुल्क खोप दिने रहेको बताएका छन् ।
अहिलेको सरकारले सार्वजनिक सुनुवाई बिना गरेका सबै निर्णय खारेज हुनुपर्ने तर्क गर्दै देउवाले भनेका छन्, ‘अहिले भएका सबै संवैधानिक अंगका नियुक्ति खारेज हुन्छ । सुनुवाई हुन नसकेमा सबै नियुक्ति स्वतः खारेज हुने व्यवस्था राखेर भएपनि निर्णय खारेज गर्छौं।’








