काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ। कोटेश्वरस्थित नेपालको निवासमा दुई नेताबीच शनिबार अपरान्ह करिब एक घण्टा छलफल भएको स्रोतले बताएको छ ।
भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र अबको रणनीतिबारे छलफल भएको बताइएको छ । हाल भेटवार्ता सकेर प्रचण्ड कोटेश्वरबाट फर्किसकेका छन् । एमाले एकताका लागि नेपाल र अध्यक्ष केपी शर्मा ओलीपक्षका नेताहरुको कार्यदलले सहमतिको प्रारुप लगभग तयार भएको अन्तिम चरणमा पुगेको बताइरहेको बेला नेपाल र दाहालबिच भएको भेटलाई अर्थपूण रुपमा हेरिएको छ ।
ओलीसँग असन्तुष्ट रहेको नेपाल पक्षका २३ सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद विघटन बदर गर्न सर्वोच्चमा अदालतमा परेको रिटमा हस्ताक्षर गरेका छन् । सिंहदरबारमा आजै दिउँसो एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक बसेर सहमति टुंग्याउने बताइएको छ ।
बैठकमा मुख्यतः एमालेको पार्टी कमिटी जेठ २ मा फर्काउने, संसद विघटनको रिटबाट एमाले सांसदले हस्ताक्षर फिर्ता लिने, शक्ति सन्तुलन आदि छलफलका विषय रहेका छन् । नेपाल पक्षले २३ फागुनयता गरिएका सबै निर्णय खारेज हुनुपर्ने अडान राखेको छ भने ओली पषले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दिएको रिटबाट एमाले सांसदले हस्ताक्षर फिर्ता लिनुपर्ने माग राखेको छ ।








