काठमाडौँ । नेपाली कांग्रेसका क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि आक्रमण भएको छ । छानबिन समितिको कार्यस्थल तीलगंगास्थित धर्म शालामा केन्द्रीय सदस्य घिमिरेमाथि कांग्रेसकै कार्यकर्ताहरुले हातपात गरेका हुन्।
उक्त आक्रमणमाथि कांग्रेसले निन्दा व्यक्त गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ – ‘क्रियाशिल सदस्यताको छानबिन स्थलमा पुगेर सांगठनिक कार्यमा व्यस्त रहेको समयमा एकाएक गरिएको आक्रमण पार्टीको अनुशासित सदस्यको परिचय हुन सक्दैन । महाधिवेशन तयारीमा शुक्रबार बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठकले घटनालाई गम्भीरतापूर्वक लिएको छ ।’
छोटो समय र कोभिड महामारीका बीच पनि केन्द्रीय सदस्य रमेश लेखकको नेतृत्वमा रहेकोे कृयाशिल सदस्यता छानबिन समितिले रातदिन कार्य सम्पादन गरिरहेको बिषयलाई कांग्रेसले प्रशंसासमेत गरेको छ । साथै सदस्यता सम्बन्धि कुनै निर्णय उपर निर्दिष्ट गरिएको उजुरीको निश्चित विधि र सुनुवाइको प्रक्रिया बाहिर गएर प्रकट हुने अराजक, अनुशासनहिन र दण्डनीय गतिविधि अस्वीकार्य नहुने पनि विज्ञप्तिमा उल्लेख छ ।








