काठमाडौं । एमाले नेता माधवकुमार नेपाल पक्षले सांसदलाई सोधिएको स्पष्टीकरणले एकतामा भाँजो हालेको निष्कर्ष निकालेको छ ।
बुधबार दिउँसो काठमाडौंको शंखमुलमा बसेको नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठकले सो निष्कर्ष निकालेको हो । एमालेले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतवार विश्वासको मत दिएका २२ सांसदलाई स्पष्टीकरण सोध्दै पत्र पठाएको छ ।
बैठकले पार्टी एकतामा जोड दिनेसमेत निर्णय गरेको स्थायी समिति सदस्य रघुजी पन्तले जानकारी दिए । ‘पार्टी एकता प्रक्रिया अगाडी बढाउनुपर्छ र एकतामा जोड दिनुपर्छ भन्ने सवैको भनाई रह्यो, सबै सदस्यलाई यस कार्यमा जोड दिन निर्देशन दिइएको छ ।’ पन्तले भने । बैठकमा माधव नेपाललगायतका नेताहरुको पुत्ला जलाइएको कुरा पनि उठेको थियो ।
पन्तले सांसदलाई स्पष्टीकरण सोध्ने कार्यले एकतामा भाँजोको बताए । ‘स्पस्टीकरण सोध्ने कामले एकतामा भाँजो हाल्छ । यसको कुनै अर्थ छैन’ उनले भने ।








