महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का वडाध्यक्ष कल्लु रानाको निधन भएको छ। क्वारेन्टिन व्यवस्थापन गर्ने क्रममा मंगलबार राति हृदयाघातका कारण वडाध्यक्ष रानाको निधन भएको हो।
स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयमा क्वारेन्टिन व्यवस्थापन गरिरहेकै बेला एक्कासि बेहोस भएका ५५ वर्षीय वडाध्यक्ष रानाको निधन भएको कृष्णपुर नगरपालिकाकी उपप्रमुख रमिता रानाले जानकारी दिइन्।
‘भारतबाट आउने मान्छेलाई राख्न क्वारेन्टिन तयार गर्दै हुनुहुन्थ्यो, राति ११ बजे उहाँ एक्कासि बेहोस हुनुभयो,’ उपप्रमुख रानाले भनिन्, ‘क्वारेन्टिनमा मान्छे राखिएको छैन।’
अहिले उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। अब उनको कोरोना परीक्षण गरिने सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले जानकारी दिए। ‘पाेस्टमार्टकाे तयारी छ, कोरोना परीक्षणका लागि नमुना पनि लिन्छौं,’ उनले भने।








