महेन्द्रनगर। कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा कैलालीको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएका कैलालीका एक जनाको मृत्यु भएको छ।
जिल्लाको गौरीगंगा नगरपालिका–७ का ५५ वर्षीय पुरुषको आइसोलेसनमा मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पुष्टि गरेका हुन्। उनकाे काेराेना परीक्षणकाे रिपाेर्ट आउन बाँकी छ।
भारतको महाराष्ट्रबाट फर्किएका उनलाई कोरोना आशंकामा उनी जेठ १३ गते मंगलवार बेलुका सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।
‘कोरोनासंग मिल्दोजिल्दो लक्षण देखिएपछि आइसोलेसनमा भर्ना गरिएको थियो, साँझ भर्ना गर्ने बेला उहाँमा मृगी जस्तो कम्पन आउने, फिज फाल्ने पनि भएको थियो। अन्य समस्याले पनि मृत्यु भएको हुनसक्छ,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘पीसीआर नमूना संकलन गरिएको छ, बेलुकासम्म रिपोर्ट आउँछ।’
उनका अनुसार पीसीआर परीक्षणका लागि नमूना संकलन गरेर प्रयोगशालामा पठाइएको छ। अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा बैतडीका चार र अछामका दुई जना गरी छ जना संक्रमितको उपचार जारी छ।
सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १७ पुगेको छ। उनीहरुमध्ये बैतडी र डडेल्धुरा एक÷एक जनाको जिल्ला अस्पताल बैतडी र डडेल्धुरा अस्पताल तथा कैलालीका चार जनाको टिकापुर अस्पतालमा उपचार भइरहेको छ।








