चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ मा डेरा गरि बस्दै आएकी एक महिला विहिबार राति अलपत्र परिन् । अलपत्र परेर न कोठा न क्वारेन्टाइनको वास पाएकी रमा तमाङलाई चितवनका संचारकर्मीहरुको पहलमा मध्यराति प्रहरीले उद्धार गरेको छ ।
लमजुङ्गबाट आएकी महिलालाई न त कोठामा जान दिइयो न त क्वारेन्टाइनमा राखियो । उनी घर बाहिर बस्न बाध्य भएकी थिइन् । भरतपुर ७ माछापुच्छ्र्र्रे चोक नजिक डेरा गरि बस्ने उनको परिवारमा आर्थिक संकट परेपछि रकम जोहो गर्न माइती घर लमजुङ्ग गएकी महिला विहिबार बेलुका चितवन आइपुगेकी थिइन् । उनी बस्दै आएको घरको घरबेटी र छिमेकीले घरमा बस्न हुन्न क्वारेन्टाइनमा बस्नुपर्छ भने जुन कुरामा उनी र उनको परिवार समेत सहमत थियो ।
तर कोठा नजिकैको रहेको राष्ट्रिय मा वि कृष्णपुरमा रहेको क्वारेन्टाइनमा त्यहाँका वडा अध्यक्ष राजेन्द्रमणी काफ्ले बस्न नदिने बताए । क्वारेन्टाइनको काम पूर्ण नभएको र भएको भएपनि बस्न नदिने वडा अध्यक्षले बताएको महिलाको श्रीमान कुशल तमाङले बताए । उक्त क्वारेन्टाइन विदेशबाट आएकहरुको लागि मात्रै भएको वडा अध्यक्ष काफ्लेले भनेको कुशलले बताए । उस बिषयमा वडा अध्यक्षसँग कुरा गर्दा उनले भाडामा बस्नेहरुलाई क्वारेन्टाइनमा राख्न सम्भव नहुने भन्दै गैर जिम्मेवार जवाफ दिएका छन् । उनले ति महिलालाई नआउन भन्दा भन्दै जबरजस्ती आएको बताए ।
वडा अध्यक्षले क्वारेन्टाइन निर्माण सम्पन्न नभएको बताएपनि महानगरपालिकाले केहिदिन अघि नै उक्त स्थानमा २० बेड क्षमताको क्वारेन्टाइन रहेको जानकरी जिल्ला प्रशासन कार्यालय चितवनलाई पठाइसकेको थियो । आफ्नो वडाको क्वारेन्टाइन निर्माण सम्पन्न नभएको भएपनि वडा अध्यक्षले अन्य क्वारेनटाइनमा समन्वय गरेर ति महिलालाई पठाउन सक्थे तर उनले त्यसो गरेनन् । वडा अध्यक्षबाट गैर जिम्मेवार जवाफ आएपछि चितवनका संचारकर्मीहरुले प्रहरीको सहयोगमा महिलालाई उद्धार गरेको हो । संंचारकर्मीहरुले प्रहरीलाई खबर गरेर महिलालाई मध्यराति उक्त स्थानमा भरतपुरको भरतपुर १० स्थित शैक्षिक तालिम केन्द्रमा रहेको क्वारेन्टाइनमा लगिएको छ ।








