चितवन । जिल्ला कारागार चितवनमा रहेका कैदीबन्दी कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन् । जिल्लामा संक्रमणको दर बढेसँगै कैदीबन्दीमा पनि संक्रमण फैलिने त्रास बढेको छ । कारागारले आन्तरिकरुपमा कैदीबन्दीलार्ई सचेतना दिलाउने तथा सरसफाइको व्यवस्था गरे पनि दैनिकजसो प्रहरीले ल्याउने नयाँ व्यक्तिबाट संक्रमण फैलिने डर भएको कारागार प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो । भरतपुर कारागारमा लडकडाउनको समयमा मात्रै ७२ जना कैदिबन्दी आएका छन् । उनिहरुलाई पिसिआर र आरडिटि परीक्षण गरेर मात्र राखिने गरिएको छ । तर, आरडिटि परिक्षण भरपर्दो नहुँदा कैदिबन्दी पनि त्रसित भएको उहाँले जानकारी दिनुभयो । एकै ठाउँमा २५ जना भन्दा बढी व्यक्ति जम्मा हुन नपाउने, बाहिरबाट आएका व्यक्तिसँग भेटघाट गर्दा विशेष सुरक्षा सतर्कता अपनाउनु पर्ने र मास्क तथा सेनिटाइजरको नियमित प्रयोग गर्नुपर्ने जस्ता निर्देशन सरकारले दिएको छ । तर, कारागारमा भने सामान्य स्वास्थ्य सतर्कता मात्र अपनाइएको छ । नयाँ र पुराना कैदी एकैठाउँमा राख्दा समस्या देखिएको छ । २०२०को दशकमा निर्मित पुरानो कारागार भवनमा २ सय ८० कैदी राख्ने क्षमता भए पनि अहिले ७ सय ७३ जना रहेका छन् ।क्षमताभन्दा बढी कैदी राखिएको सो कारागारमा नयाँ आउनेलाई छुट्टै व्यवस्थापन गर्ने स्थानसमेत नभएको जिल्ला कारागार भतरपुरले जानकारी दिएको छ । कैदीबन्दीको सुरक्षालाई ध्यानमा राख्दै कैदिबन्दीलाई भेटघाट गर्न रोक लगाईएको छ । भरतपुर कारागारमा नवलपुरबाट समेत कैदीबन्दी ल्याईने भएकाले दिनप्रतिदिन संख्या बढ्दै गएको छ ।








